Skip to main content

सुरुवात : एक प्रेम कथा

Image Credit : https://www.shutterstock.com/image-photo/alone-broken-sullen-young-teen-guy-1008731521


भन्ने गर्नुहुन्थ्यो मेरी हजुराआमा
"जिवन दुखलाई जित्ने खेल हो,
आत्तिन हुन्न,
खुड्किला टेक्नुपर्छ साना साना”
लाग्थ्यो बालक छँदा
सार्है ज्ञानी हुनुहुन्छ प्यारी हजुरआमा
समयले मलाई बढायो बाँसघारी जसरी
अनि महसुस हुन थाल्यो कि
जीवन कुनै खेल होइन रहेछ
फेरी खेल्न नपाइने, मर्दासम्म बाँच्नुपर्ने
बाँच्दासम्म मरिरहनुपर्ने
मलाई छर्लंग याद छ,
त्यो अन्त्यको त्यो सुरुवातको दिन
रगताम्मे थिएँ होला सायद
मर्दामर्दा थाकीसकेको, अब बाँच्नुपर्यो भनेर
पहिलो पटक आत्महत्या प्रयास गरेको दिन
हातमा ब्लेड च्यापी, नसा च्वाट च्वाट काटी
दरिद्रताको रगत सलल बगाउँंदै नशामा झुमेर
मुटु दर्हो बनाउँदै, संसारसँग हारेर जङ्घ जितेको दिन
 
                    *---*---*---*

           "१२ मा फेल"

पढाई नै सबैभन्दा ठुलो कुरो हो
मार्क्स नै सबैभन्दा ठुलो लक्ष्य हो
हो,मलाई विद्यालय छँदा यहि पढाइएको हो
त्यसैले होला पहिलो चोटि १२ को परिक्षामा फेल हुँदा रोएँ
खुब रोएँ, मुटु ठोकी-ठोकी रोएँ, एकान्तमा रोएँ
परिवारको, समाजको सामुन्ने रोए सबले के भन्लान्
म छोरा मान्छे पो, मलाई मेरो समाजद्वारा
परिवारद्वारा सम्मानसित बाँच्न सिकाइएको हो
त्यसैले आफू निर्दोष बनी
फेरी अनि फेरी दोष दिएँ समाजलाई, परिवारलाई
ड्याङ्कामुलाहरुले पहिलो पटक
चुरोटको धुवाँ बाँदलसरि बाँदलमा उडाउन सिकाए भनेर


विज्ञान विषय लिएर पढेको थिएँ
अहिले आएर महसुस भन्ने चिजले
ट्वाङ्ग भेजामा हानेर लाग्छ कि
रहेछ अन्य कला ममा लुकेर बसेको
पढाई खस्किँदै गएको
साथि-भाईसँगको हल्ला, शिक्षकहरुसँगको किचकिच
रमाईलो पनि अत्ति रमाइलो,
तर पढाईको रस हराउँदै गएको
अनि कसरी हुन्थ्यो त प्रगति
बन्न मन थियो एउटा, बन्दै थिएँ आर्कै
जब आँसु सुके, महसुस भयो, म कायर पो रहेछु
सानो छँदा सिआईडी हेरेसी मुत्न जान डराउने कायर
ठूलो भएसि आफ्नो लेखक बन्ने सपना त्यागेको कायर
हो, म ठूलो भएको थिएँ, सोचमा मात्रै ठुलो, निकै ठुलो
हाईटमा चाहिँ डब्ल्यु डब्ल्यु ई को फुच्छे रेमास्टेरियो जत्रो

                  "निरास भएपछि"

देवताको गुन हेर्नुहोस्
पढ्ने सोचेको थिएँ पशू चिकित्सक
सानैदेखि पशूप्रेमी, किन? बाबा भन्नुहुन्थ्यो;
“तँ आफै गधा होस्, अनि मन पराउँछस् पशू”
फेल भएँ, कुर्नुपर्ने भयो एक वर्ष
बिस्तारै पशू चिकित्सक बन्ने इक्षा हुँदै गयो कम
यस्तो महसुस भयो कि देवताले लुटे सारा हर्ष
कुनै पनि विज्ञानको विषयमा पाइनँ मैले कुनै अर्थ
अहिले आएर लाग्छ, लेखक नै बन्नकैलागि रहेछ
देवताको गुन हेर्नुहोस्
तर देवताको गुन टिकेन धेरै, किन? म भन्छु नि किन

बस्ने गर्थेँ म बुटवलमा, सबै साथी बनाएको थिएँ त्यहिँ
तर जब १२ सिद्दियो, साथी गए सबै बाहिर, संवाद पनि,
बुटवलमा भविश्य रहेनछ क्यार, मेरो झन के हुन्थ्यो
बस् सुमन थियो, मेरो हर घडीमा साथ दिने साथी
मभन्दा एक कक्षा तल तर एउटै उमेरको
एउटै स्कूलमा नपढेकाले होला, बेग्लै थियो सम्बन्ध
मैले चुरोट खान थालेको पाएछ थाहा
एक दिन भन्यो; "मलाई जेको डर थियो, त्यही भयो ला
किन भनेर सोध्छौ मलाई छ थाहा,
तिमी गधा, सुरुचोटी खायौ कहाँ?"
म गधाले भनेँ, "सिद्धबाबाको भिरमा, फेल भएर रोइराथेँ
लेखिएको थियो नजिकै, "सावधान, नआउनुहोला यहाँ"
आत्महत्या गर्न मन लाग्यो, फेरि नजिकै देखेँ नागको मुर्ती
अनि त्यो संवाद गधाको आयो याद
उसले मलाई देखाएको थियो के हो भगवान
उसले नै सानो छँदा सिकाएको थियो गर्न पूजापाठ
ढोगेँ मुर्तीलाई, अनि लागेँ सिद्धबाबा मन्दिरतिर"
सुमनले भन्यो, "रक्सी छोडेपछी पनि कसरी भयो चुरोटपान?"
मैले भनेँ, "खानुपर्छ चुरोट, हेर त कति टेन्सन छ यार"
सुमनले जवाफ दियो, "तिमी साँच्चिकै गधै हौ यार
कुरा नबुझ्ने गधा, अनि मायामा पनि धोका पाएको गधा, हाहा"
"सरस्वतीले छोडेसी त त्यस्तो नभन न"; मुटुमा ढुङ्गा राखि भनेँ
"अर्को कुरा मन छ भन्न, अस्ती पोखरा गएपछी अर्कै भएछौ
मलाई भनेकै छैनौ", उसले प्रश्नवाचक चिन्ह खडा गर्यो
म मौन रहेँ


              "साथी परिवार"

संवाद थियो मेरो स्कुल छँदाको मिल्ने साथी
मलाई स्कुल भन्ने चिज मन परेन कहिल्यै
सधैँ शिक्षकहरुको गाली सुनेको भएर होला
तर संवाद थियो फरक, अरु सथीभन्दा पनि फरक
सानैदेखी भगवानका सुनाउँथ्यो गाथा
केटाकेटिले गुणहरु सानैबाट पक्रने भएर होला
सानैदेखि उसका कुरा सुन्दा लाथ्यो निकै रमाइलो
अझै याद छ ती दिनहरु, संवादका कुरा सुन्ने,
घर आएर बाबालाई सोध्ने "बाबा, कृष्ण निकै
ग्यानी थिए रे, संवादलाई उसको मम्मीले भनेको रे"
मुस्कुराउनुहुन्थ्यो बाबा, अनि मलाई मन्त्रहरु दिनुहुन्थ्यो
मन्त्र भोलि गएर संवादलाई सुनाउँथेँं, अनि सब जना चकित
आउथेँ घर,जान्थेँं सुमनकहाँं, जहिल्यै पढिराख्थ्यो
निकै पढाकु ऊ,
आध्यात्मिक, मनोवैग्यानिक अनि नानाथरीका पुस्तक पढ्ने
मलाई रद्दी लाग्थ्यो अनि लिएर तानेर लग्थेँ बाहिर
अनि डुल्थ्यौँ सुमन म सरसर हस्पिटलको टोल वरपर
उसको बाबा हुनुहुन्थ्यो सबैभन्दा ठूलो डाक्टर
मेरो बाबा चाहिँ कार्यालय सहयोगि, एक पिओन
हामी डुल्दा मान्छेहरु सुमनलाई भन्थे,
"सुमन तिमी किन खाली हिँड्छौ योसँग?"
"उसको नाम आत्माज्योति हो"; रिसाउँदथ्यो ऊ

साथीहरु र परिवारले केही चिजको हुन दिएनन् कमि
त्यसैले होला आफ्नो बाबा के कस्तो, लागेन पीर
मम्मी बस्नुहुन्थ्यो घरै, आफ्ना दुई छोरालाई
ग्यानगुनका कुरा, समाजका मान मर्यादा सिकाउँदै
दाई हुनुहुन्थ्यो मभन्दा पाँच वर्ष जेठो
डब्ल्यु डब्ल्यु ई को कुस्ती खेल्ने गर्थ्यौँं घरमा
मैले धोबीघाट खाने, दाईले लात्ताले भकुर्ने
अनि आउने बाबा अनि दाईलाई चाकमा हान्ने
म आँसु पुछ्दै खित्त हाँस्ने, क्या दिनहरु थिए
ठूलो भएसी सार्है याद आउन थाल्यो बाल्यकालको
कहाँ गए ती सुनौला दिन,
न थिए कुनै शारिरिक मानसिक तनाव
न थिए समाजद्वारा दबाउन खोजिएका सोचका बोझहरु
न थिए आत्महत्याको प्रयास नै प्रयास गरेका दिन
न थिए रातदिन कोठामा एकान्त रोइबसेका दिन
न त आवारा भई पागल बनेर अन्जान सहरमा भौँंतारिएका दिन

                  "चुरोट"

आफ्नो एक वर्ष पढाई छुट्नुको पिडै बेग्लै
कहिलेकाहीँ चुरोट पिएको देखेर भन्थ्यो सुमन,
"पहिले गर्थौ रामको वाहवाह, अहिले चुरोट स्वास्वा?"
म भन्ने गर्थेँ,
"सरस्वतीले दिएसी धोका खान थालेको थिएँ रक्सी
त्यो छोडेँं, यो पनि त छोडीहाल्छु नि भोली पर्सी"
"कुरा गर्छौ सरस्वतीको। अझै सकेको छैनौ भुलाउन उसलाई"
"यार कसरी भुलाउँ? सच्चा प्रेम गर्थेँ"
"सच्चा प्रेम? नगर मजाक। अहिले प्रेम गर आफुलाई
हेर आत्मा, चुरोट पनि एक लत हो। यो हो एक एट्याच्मेन्ट
जुन हो गलत। तिमी चुरोटलाई गर्दैनौ माया।
चुरोट खान्छौ जसले तिमीलाई गर्छ हानी
अनि चल्छ तिम्रो मनभित्र द्वन्दकहानी। यो चुरोट
तिमीले होइनौ दुख भुलाउनकोलागि खाएको तर
हो तिमीले खाएको आफ्नो दुखबाट भाग्नकोलागी"
भन्यो उसले, अनि ती शब्दहरु मेरा मुन्टामा पस्न नखोजेर भनेँं,
"बरु गणित बुझाऊ, त्यो बुझम्ला, तर बुझ्दिन तिम्रा कुरा"
तिनै शब्दहरु त्यतिखेर बुझ्न नचाहेर होला
उमेर बढ्दै गएसी खेप्नुपर्यो दुख, दुखबाट भाग्न खोजेर
आफूलाई चिन्न नसकेर, मम्मी-बाबाको नजरमा गिरेर
समाजमा कलङ्कित कपूतहरुका रूपमा हेरिएर, दाई र म,
आफ्नो सारा संसार गुमाएर, सबैलाई आफूबाट टाढा भगाएर
ती चिताहरुलाई रुवाएर, आफूभित्रको राक्षसी संसार हँसाएर,
आफ्नै आत्मालाई मारेर, आफ्नैलाई मारेर,
खेप्नुपर्यो दुख, दुखबाट भाग्न खोजेर

                        "सरस्वती"

१२ कक्षाको स्वागत समारोहमा होला "साथी" भन्ने गीत गएर,
सबैले मलाई बोलाउँदथे मलाई यम बुद्धको फ्यान भनेर
खुसी थिएँ म पनि, मान्छेका अगाडि बोल्न नसक्ने म
स्टेजमा गएर गायो, घरमा गएर भिडियो देखाको त यस्तो भने,
"हेर् त सन्ध्या, के हो यो ल्यारा ल्यारा गरि गाएको? यो गीत हो?"
"अह् बाबा, अरु बेला नि खाली ऐना अगाडि कराउँछ यस्तै गरेर"
बाब्बै, दाई र म पेट मिचिमिची हाँंस्यौँ बुढाबुढिको गफ सुनेर
क्या दिन थिए
त्यही दिन पनि थियो मैले सरस्वतीलाई प्रेम प्रस्ताव राखेको,
उसलाई एक दिनअगाडि नै भनेको थिएँं फेसबूकमा मेसेज गरि,
"भोलि स्कूलको सबभन्दा माथिल्लो तल्लाको एकान्त सिँढीमुनि
भेट्न आऊ ल ५ बजे, राख्नेछु म प्रेम प्रस्ताव"
नभन्दै आई, केही नबोलि मुसुक्क मुस्कुराई, मलाई आयो जोश
अनि र्याप हानेँ मैले उसको सामु:

कसरी पोखूँ म तिम्रासामु यी मायाले ओतप्रोत मेरा भावना
भन्दिनँ अरुजस्तै कि, तिमी हौ मेरी चाहना, किनकि हौ तिमी
मेरै, किनकी मनभित्रै तिमीलाई राखी गर्छु म साधना, तपस्या
गर्छु बिहान आराधना तिमो सरस्वती, तिमी हौ मेरी कहानी
विद्ध्याकी खानी, मनकी रानी, मेरी प्रेम कहानी,
एउटा कथा भन्छु आशा छ मन पराउँछौ होला,
 कक्षा ७ थियो होला,
आयौ तिमी पहिलो चोटि स्कूलमा बोकि झोला
पहिलो चोटि आएन केही भावना, साथीहरुले तिम्रोबारे शब्द फेरे
अनि बल्ल हेरेँं तिम्रो बाटुलो अनुहार, सर्लक्क कपाल,
चालढाल क्या बब्बाल, भएँ लट्ठ निराकार, देखेँ स्वर्गकी हार
सोचेँ आफ्नो मतिसँग मान्दिन हार, तर भइसक्यो मुटु आरपार
समय बित्दै गयो अनि चिन्दै गएँ तिमीलाई, तिम्रो सरल ब्यवहार
लाग्यो चियामा फिका पारीदिन्छौ चिनीलाई
मान्छेहरु क्रश पर्यो भन्छन्, तर म भन्दिनँ,
भन्छु केवल मुटुमा तिमीबाहेक अरुलाई गन्दिनँ

"आम्मुइ! आफ्नै र्याप पनि बनाउँछौ? भनेनौ त फेसबूकमा
हेर, मलाई छ थाहा कि तिमी छैनौ फटाहा, छौ राम्रो
मलाई एत्रो वर्ष भनेनौ किन? आएन आँट?"
"हैन! थिएँ मनभित्र साँचेर राखेको,
वर्षौँसम्म माया साँंचेर राखेको मज्जै बेग्लै
गरेको छु प्यार सच्चा, स्विकार्ने हातमा छ तिम्रो"
"हुन्छ आत्मा, देऊ मलाई समय, आई एम नट रेडि येट"
अनि त्यसपछी घन्टा पनि दिनजस्तो लाग्न थाले प्रतीक्षा गर्दा
पर्सिपल्ट स्विकारी मेरो प्रस्ताव,
चोखो माया गरेकाले दिएँ माया चोखै
जान्थ्यौँं छुट्टीका दिन घुम्न, मायाको कपडा बुन्न
कहिले जान्थ्यौँ फूलबारी, कहिले हिलपार्क
कहिले कस्तुरी मिष्ठान, कहिले गनपती
कहिले सिद्धबाबा, त कहिले त्यही पुष्पलाल पार्क
बिस्तारै महसुस हुँदै गयो कि गर्छे मोरीले सच्चा प्यार
साथी भाईले भन्थे, "हैट क्या दामी ढुकुरको जोडि
सम्भव छ है। हेर हेर वर्षौँपछि आत्मासँग पट्टीई मोरी"

एक दिनको कुरा हो, फेसबूकमा आयो मेसेज
अनि मन भयो धरहराबाट हाम्फाले जस्तो
बग्यो आफैँ आँखाबाट आँसुको धारा
तातेर आयो कन्सिरी, फुट्लाजस्तो भयो कन्चट
कसैले पठायो मलाई अस्लिल भिडियो,
सरस्वती नग्न, मुख नदेखिएको केटासँँग संलग्न
आर्को दिन गइनँं स्कूल नै, सुमनलाई भनेँ
सम्झाउन थाल्यो आदर्शका कुराले, मैले चाहिनँ बुझ्न अनि त्यो रात
निकै रोएँ, भक्कानो छोडेर रोएँ, पहिलो पटक दारु समाउँंदै रोएँ
अनि आयो त्यहीबेला कुकुर्नीको फोन,
"आज किन आएनौ, याद आयो कति"
"तँ साली, कुकुर्नी, मलाई धोका पनि यसरी दिएकी
कोसँग सुतिस्? किन सुतिस्? तँलाई आजसम्म छोएको पनि थिइनँ
गरेँं मैले त्यही गल्ती? थाहा छ तँलाई कति माया गर्थेँं?
सानैदेखि चोखो माया गरेँ, यहि पाएँ? सपना डुबाइस्"
मेरो आवाजमा थियो रोदन र रक्सीको गन्ध मिसिएको
"ह... है... हैन आ.. आत्मा.. भनेको के? सकिनँ म... मैले बुझ्न
रोक है फेरि क...कल गर्छु म ए...एकछिनमा"
न त उसले फेरि कल गरी, न त फेरि स्कूलमा कहिल्यै देखा परी

               "दुखलाई भुलाउँंदै"

मैले आफ्नो उमेरलाई नचिनेर होकि उमेरले मलाई नचिनेर हो
पीडा भो, सार्है पीडा भो, मन चिरेर राक्षसले रगत चुसेजस्तो पीडा
संवाद मलाई गीताका ऋचा सुनाउँथ्यो
अनि घर आएसी अर्थाउँथ्यो चाहिँ सुमन, गधाहरु
दुबैका कुरा मलाई रद्दी लाग्थ्यो, केही बुझ्थिनँ, रद्दी लाग्थ्यो
दारुपनि खान पाइनँ, संवादले घरमा भनिदियो, मम्मी निकै रुनुभयो
त्यस घटनापश्चात संवाद र मेरो सम्बन्ध उस्तै थिएन रहेको

र्याप निकै सुन्थेँ, सानो छँदा कविता कथा, अल्लि ठूलो भएसी र्याप
केही अन्तर देख्थिनँ म, भावना थियो भरिएको, त्यही गर्थेँ उजागर
त्यहीले थियो डुबाएको, अल्झाएको, लडाएको, पढाई खस्काएको,
अनि तैराएको, सुल्झाएको, उठाएको, जिन्दगी अलिक... बनाएको
साथीभाइसँंग निकै जिस्किएर होला, पीडा भए कम
१२ को परीक्षा भयो खतम, ढुक्कै लागेको थियो पास हुन्छुजस्तो
सानैदेखि सहि पलको प्रतीक्षा गर्ने भएर होला, कुरेँ सहि समयकोलागी
अनि परिक्षाको अन्तिम दिन मागेँ संवादसँग माफी
सम्बन्ध बिग्रीएको जस्तो लाग्थ्यो तर उसले हाँसेर भन्यो, "पोखरा जाम्"

                              "पोखराको यात्रा"

पर्सिपल्ट उठ्यौँं अनि लाग्यौँं संवाद र म मित्रताको झोला बोकि गन्तव्यतिर
७ बजे निस्कँंदो रहेछ अनि लाग्दो रहेछ नारायणघाट हुँदै पोखरातिर बस
बाटोमा नन भेज चाउचाउ खाएँं, गधाले गाली गर्यो, ई हुन्छ चिकन त्यसमा
सुमनले यसलाई पो गधा भन्नुपर्ने, तर सुमन र संवादबिच परिचय थिएन राम्रो
पुग्यौँ पोखरा अनि गयौँं संवादको सानिमाकहाँ, बाटोमा सिस्नोले झन्डै पोलेको
भोलिपल्ट पो थाहा पाइयो मान्छेले किन प्रशंसा गर्दा रहेछन् यो रसिलो सहरको
ठिक्कको घाम, पंक्षी उडेको खुल्ला आकाश, भन्नै पर्दैन के देख्यौँं, हिमश्रीङ्खला
ती सललल वेगसित हतारीँंदै बगेका खोला, भन्नै पर्दैन के देख्यौँ, डेविस फल्स
त्यो हेर्दा आफ्नो चन्चल मनै स्थीर पार्ने ताल, मान्छे नै मान्छे, भन्नै पर्दैन के देख्यौँं
अनि त्यो फेवा तालको फूटपाथमा हिँड्दै गर्दा जे देख्यौँ, हामी दुवै अवाक भयौँ,
सरस्वती पो

                        "मिलन बिछोड"

संवादले भन्यो, "जा गएर कुरा गर्, म हुन्छु एतैतिर, कल गरेस् गफ सिद्दिएसि"
मुटु ढुकढुक गरिराथ्यो, सोचका आँसु बगिराथे, डराईराथेँ म, रिसाईराथेँ, खुसी,
लगाएकी थिई झोले टिशर्ट र फुल कट्टु, मलाई देखेकी थिइन अनि गएँ बिस्तारै
काँधमा ट्याप्प गरेँ, उसको त उड्यो सातोपुत्लो नै, फर्केर हेरी, बल्ल पो गयो सातो
स्तब्ध भई, सेतो मुख झनै सेतो भयो, राता रगत झनै राता भए, अन्तत म बोलेँ,
"के छ? सन्चै छौ? पोखरामा भेट्न पुगेँ तिमीलाई म कसरी? किन स्कुल छोडेको?"
आफ्नै सोचमा हराएकी ऊ अनि बोली, "बाध्य भएँ म सबै भन्छु तर अन्तै जाऔँ"
लाग्यौँ एक नजिकैको क्याफेमा जहाँ थिए खैरे मात्र, कोहि थिएनन् कुरा बुझ्ने
वेटर दाई आए अनि उसले भनी, "टु कप अफ कफि प्लिज"
टेबुलमा बसेपछी पनि एकछिन चुप रही अनि बिस्तारै खोली मनका कहानी

"सुन कहानी तिमी हैनौ मेरो पहिलो प्रेम कहानी
कक्षा १० मा पढ्थेँ जब थिएँ सङ्गमसँग सम्बन्धमा
केही बुझेकी थिइनँ लाग्थ्यो निकै थियो माया अनि एक दिन
करकाप गरेर छोड्ने डरत्रास देखाएर हररात सताएर
राख्यो शारिरिक सम्पर्क गर्ने प्रस्ताव अनि स्विकारेँं मैले
माया गर्थेँ त्यसैले खुसी लाग्यो किनकी ऊ थियो एकदम खुसी
धेरै पटक वस्त्र उतारेझैँ इज्जत उतारेँ, आफ्ना सपना उतारेँ
पिडाहरु थिए मनभित्र तर मनभित्रै दबाउनु पनि कला होला
अल्लि अल्लि ठिक चल्दै थियो, अनि कुरा हुन थाल्यो तिमीसँग
साथीमार्फत थाहा पाएँ तिमीले मलाई मन पराउँथ्यौ ७ देखि
देख्न थालेँ उसको मायामा खोट, तिमीतिर अघि बढाएँ सोच
सोध्नेगर्थ्यो ऊ के भयो भनेर अनि रिसले घुम्यो आर्कै केटिसँग गएर
बहाना पाएँ अनि हाम्रो ब्रेक अप भो, तिमीसँग थाहा पाइ निकै रिसायो
माग्यो निकै माफी दिनरात दिनरात, भन्यो भेटिनँ भने मरिदिन्छु रे
भेटेँ अनि खै कसरी नजिकियो सम्बन्ध, अनि फेरि घट्यो कालो रात
गल्ती थियो मेरै, माया गर्थेँ तिमीलाई नै तर भयो ऊसँग शारिरिक सम्बन्ध
मलाई के थाहा उसले टुटाउन खोजेको रहेछ त्यसरी हाम्रो सम्बन्ध
खिचेछ भिडियो अनि पठाएछ तिमीलाई आफ्नो मुख नदेखिनेगरि
परिवारको इज्जत लुटिने महसुस भएपछी प्रयास गरेँ मैले डरलाग्दो चिज
आत्महत्या
तर परिवारले थाहा पाए अनि बाचेँ, अनि कुरा खुलाउनुपर्यो
समाजको डरले यति सम्म हामी सबैको निद्रा खायो कि लाजले आयौँ यता"

हामी निकै बेर केही बोलेनौँ, मलाई थियो आश्चर्य र मायाप्रतिको घृणाले घेरेको
केही बोल्न नसकेर मैले कुरा अन्तै मोडेँ, "अनि अहिले कता आको त?"
"छोरोको कपडा किन्न", उसले भनी अनि म त मानौँं आश्चर्यताको भुमरीमा परेँ
दुबै भयौँ चुप एकछिनका लागि, उसका आँखा रसाएको देखेँ मैले छरष्ट अनि
मैले सोधेँ अनि उसले भनी, "अहिले हो उहि सङ्गम मेरो श्रीमान् र हाम्रो बालक छ"
म त अवाक् भएँं, एकदमै अवाक्, उसले भनी, "त्यो भिडियो ऊसँगै थियो त्यसैले
बाबा मम्मीले समाजमा आफ्नोको इज्जत बचाउन गरिदिनुभयो हाम्रो बिहे"
आँसुका धार बगे, धेरै बगे, अनि आयो कफि अनि खई कसरी मेरो कफि पो भो नुनिलो

"मलाई थाहा छ भन्दैनौ तिमीले कसैलाई पनि त्यही भएर भनेको"
लामो कफिका चुस्काले घेरेको शुन्यतापछी उसले भनी
हाम्रो बिछोडपछी संवादसँग भेटेँ अनि उसले निकै सोध्यो तर मैले केहि भनिनँ
यो घटनापछी मैले निश्चय गरेँ कि म अब माया नै कहिल्यै गर्दिनँ
अनि समाजबाट मेरो पूरा विश्वास उठ्यो, सधैँकोलागी,
तर मलाई के थाहा थियो र
एकदिन माया र समाजले नै गर्दा म बौलाहा हुन्छु भनेर
दिन रात आफ्नै कपाल लुछी रुन्छु भनेर, शरीर ब्लेडले
च्वाट च्वाट काट्छु भनेर,
आत्महत्या नै आत्महत्याको प्रयास गर्छु भनेर

क्रमश...


Comments

Post a Comment

Popular posts from this blog

तिम्रो सामु

हेर फर्की तिम्रा ती रक्तलिप्त पाथहरु, आज एकान्तमा रगतको आँसु झारिरहेको एक्लो चन्द्रमा भन्दा गाढा छन्। हेर पीडाले गुहार मागिरहेका कोमल माटोमा थचक्क बसि, तिम्रा काला पै...

What's the title anyway?

Oh man I'm writing this. All the laziness that had taken over is being gradually exorcised. "Wake up , you lazy ass"; my dad scolds me, "You're so damn lazy" ; my mom frets. Couple of months back ,when I asked my friend for suggestion to put this laziness into dump , he was like; " Man , can't you see me relaxing? Making my brain work on this boring topic. Laziness is so cool ,so stop your whining ". The same guy was asking me as of why he couldn't get a girlfriend. Ok,  I don't have one either. Some of you don't. But why the hell am I bringing up this topic? Ah man, my chest hurts.   *remembers he has no girlfriends, cries in the corner* So this is me Atmajyoti (my name is wierd all right ... but I'm over it already) from Nepal. I was thinking of writing something since ages. The tomorrows'd been increasing day by day. But I was unable to write, not because I was having a writer's block but because I was too lazy to ...